• Tuesday 28th of July 2026

स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसेली


  • गोकर्णेश्वर अनलाइन

स्वास्थ्यचौकीमा सुत्केरी हुनेलाई कोसली दिन थालिएको छ । दाङमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइमा शिशु जन्माउने आमा र नवजात शिशुलाई कोसली दिन थालिएको हो ।

संस्थागत प्रसूतिलाई थप प्रोत्साहन गरी मातृ मृत्यु तथा नवजात शिशु मृत्यु कम गर्न लालमटिया र सिसहनिया स्वास्थ्य चौकीबाट उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिका अन्तर्गतका बर्थिङ सेन्टरमा प्रसूति भएको समयमा उपाध्यक्ष कोसेली दिइने भएको उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिनुभयो । उपाध्यक्ष चौधरीले सुत्केरीलाई कोसेलीस्वरुप आवश्यक सामग्री प्रदान गरी कार्यक्रमको शुरुवात गर्नुभएको हो ।

कोसेली वितरण कार्यको शुरुवात राप्ती गाउँपालिकाको उपाध्यक्षबाट सम्बन्धित बर्थिङ सेन्टरको सेवा प्रदायकले सबै प्रसूति सेवाग्राहीलाई यथास्थानमै दिइने व्यवस्था मिलाइएको छ । राप्ती गाउँपलिकामा संस्थागत सुत्केरी वृद्धि गरी आमा तथा नवजात शिशु मृत्यु कम गर्न आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत बर्थिङ सेन्टरबाट निःशुल्क २४ सै घण्टा प्रसूति सेवा, न्यानो झोला वितरण, प्रोटोकल अनुसार गर्भजाँच भएकालाई गर्भवती उत्प्रेरणा, संस्थागत सुत्केरी हुने हरेक महिलालाई यातायात खर्च, ३५ दिनभित्र बच्चाको जन्म दर्ता गराए रु एक हजार उपलब्ध गराउँदै आएको छ । शून्य होमडेलिभरी वडा घोषणा कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै शतप्रतिशत संस्थागत प्रसूति गराई असुरक्षित प्रसूतिबाट हुने मृत्युको जोखिम कम गरी मातृ मृत्यु दर घटाउने प्रयास भइरहेको छ ।

यसैगरी घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधि बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधि बनाई आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न लागेको हो ।

गर्भवती भएदेखि नै आवश्यक स्वास्थ्य जाँच, पोषण, खोपलगायतका आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित् गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधि बनाइँदै छ । सो उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधिको मस्यौदामा स्वास्थ्यकर्र्मी र वडा सचिवबीच छलफल भएको छ । गर्भरहेदेखि बच्चा जन्मदासम्म चारपटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने, बच्चा जन्मेपछि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने र खानपानमा सन्तुलन मिलेको हुनुपर्ने छ ।

कार्यविधिले तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मिएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने भएको हो । गत वर्षमा शुरुभएको उपप्रमुख खुत्रुके अभियानलाई यस वर्षदेखि कार्यविधि बनाई आमा र शिशुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

उक्त कार्यविधिमा सामाजिक संस्कार अनुसार न्वारन, भात खुवाइ, चाडपर्वमा शिशु तथा आमालाई दिइने दक्षिणाबाट आउने रकमलाई फजुल खर्च नगरी उक्त खुत्रुकेमा जम्मा गर्ने र अप्ठेरो पर्दा बच्चा र आमाको उपचार तथा पोषणका लागि खर्च गर्ने उल्लेख छ ।

चालू आर्थिक वर्षमा उपमहानगरले उपप्रमुख खुत्रुके बचत कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । उपमहानगर, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले मातृशिशु स्वास्थ्यलाई सवल र सक्षम बनाउन खुत्रुके कार्यक्रम ल्याइएको बताउनुभयो । बालमैत्री नगर बनाउने, मातृशिशु मृत्युदरलाई घटाउने, पैसा बचतको बानी विकास गर्ने र पोषिलो खानेकुराप्रति ध्यान जगाउन समेत कार्यविधि बनाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology