• Monday 5th of October 2026

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ८ः४० बजे राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजबाट बङ्गलादेश प्रस्थान गर्नुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गर्नुभयो । सो अवसरमा मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।

भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी हुनुहुन्छ ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा सहभागी हुनुहुनेछ । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology