• Saturday 25th of July 2026

सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने


  • गोकर्णेश्वर अनलाइन

औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले आज उक्त खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो । विभागीय निर्णयअनुसार सिनोभ्याकको खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो ।

विभागले यसअघि नै चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिइसकेको छ । ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि सिनोभ्याकले उत्पादन गरेको उक्त खोपलाई यसैसाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमित दिएको थियो ।

यससँगै चीनमा उत्पादन भएका दुई खोपलाई डब्लुएचओले आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओले यसअघि नै सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

सिनोभ्याकले उत्पादन गरेको कोरोनाभ्याक खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, टर्की र थाइल्याण्डमा प्रयोग गरिएको थियो । ती देशमा खोप लिएका आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमणको लक्षण नदेखिएको, शतप्रतिशत व्यक्तिमा गम्भीर बिरामी र अस्पताल भर्ना हुनुपर्ने अवस्था नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त खोप १८ वर्षमाथिका व्यक्तिले लगाउन सक्ने डब्लुएचओले जनाएको छ । सिनोभ्याकले उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियत तापक्रममा सामान्य ‘रेफ्रिजेरेटर’मा भण्डारण गरेर राख्न सकिने छ । चीनले दुई चरणमा गरेर नेपाललाई १८ लाख भेरोसेल खोप अनुदानमा दिइसकेको छ । यसैगरी भारतले पनि १० लाख डोज कोभिसिल्ड खोप नेपालाई अनुदान दिएको छ ।

तत्काल १० लाख डोज ल्याउने

विभागले सिनोभ्याकको खोपलाई नेपालमा प्रयोग अनुमति दिएसँगै उत्पादक कम्पनीको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले आयातका लागि अनुमित मागेको छ । विभागले आयात अनुमति दिएसँगै उक्त कम्पनीले सिनोभ्याकको खोप नेपाल भित्रयाउने छ ।

विभागबाट प्रयोग अनुमति पाएसँगै आयात अनुमतिका लागि आवेदन दिइएको बायोमेटिक्स प्रालिका निर्देशक बिके भण्डारीले बताउनभुयो । बायोमेटिक्सले उक्त खोपको उपभोक्ता मूल्य प्रतिडोज रु दुई हजार १०० तोकेर विभागसमक्ष आयात अनुमति मागेको छ । उक्त मूल्यमा सबै खर्च समावेश भएको छ ।

“विभागले सिनोभ्याकको खोपको प्रयोगलाई अनुमति दिएसँगै कोभिड महामारी नियन्त्रण गर्न सरकार र जनतासमक्ष हातेमालो गर्न हामीले उक्त खोप जतिसक्दो चाँडो नेपाल ल्याउन आयात अनुमति मागेका छौँ’, उहाँले भन्नुभयो, “आइतबारसम्म आयात अनुमति पाउने अपेक्षा गरेका छौँ ।”

बीस दिनभित्र १० लाख डोज खोप नेपाल ल्याउने गरी आयात अनुमति मागेको उहाँले जानकारी दिनुभयो । “हामी उत्पादक कम्पनीसँग निरन्तर संवादमा रहेका छौँ, कम्पनीले २० दिनभित्र १० लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ”, निर्देशक भण्डारीले भन्नुभयो, “सबै प्रक्रिया सकेर २० दिनभित्र खोप नेपाल ल्याउछौँ ।”

नेपाल ल्याइने खोपको समूचित वितरणका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको उहाँले बताउनुभयो । बायोमेटिक्सले १० लाख खोप भण्डारणका लागि काठमाडौंमा भण्डारण गृह पनि निर्माण गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology