• Friday 24th of July 2026

वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो


  • गोकर्णेश्वर अनलाइन

बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो । मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर फुटपाथमा बनाइएका व्यावसायिक संरचना हटाउन शुरु गरेको हो । विकल्पबिनै आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको स्थानमा डोजर चलाएपछि व्यवसायी आक्रोशित बनेका छन् । मङ्गलगढी चोकमा ठेलामा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी पार्वती पौडेलले नगरपालिकाले तत्काल व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । फुटपाथ व्यवसायीले कर तिर्नुका साथै फोहरमैलाको व्यवस्थापन आफँैले गर्ने गरेको बताएका छन् ।

व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नगरपालिकालाई मासिक रु ३०० र सरसफाइ शुल्क रु १०० तिर्दै आएका थिए । नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले फुटपाथ व्यवसायीको माग सम्बोधन गरिने बताउनुभयो । उहाँका अनुसार सडकमा व्यवसाय गर्ने ७०० बढी व्यवसायी छन् । तीमध्ये ८८ ले मात्र व्यावसायिक विवरण भरेका छन् । “विवरण पेश गरेका व्यवसायीलाई उपयुक्त ठाउँमा पूर्वाधार निर्माण गरी व्यवसाय सञ्चालनको व्यवस्था गर्छौं”, उहाँले भन्नुभयो, “फुटपाथका संरचना हटाउन थुपै्रपटक अनुरोध गर्दासमेत अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology