• Friday 24th of July 2026

सडक निर्माणमा ढिलासुस्ती


  • गोकर्णेश्वर अनलाइन

झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएपछि नागरिक सडक सङ्घर्षमा उत्रिएका छन् । निर्माण सम्झौता सकिन लाग्दासमेत निर्माण कार्यले गति नपाउँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नागरिक सडक सङ्घर्षमा उत्रिएका हुन् । “सम्झौता अवधि सकिन लाग्दा पनि अपेक्षाकृत काम भएको छैन’, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले भन्नुभयो, “समयमै सडक निर्माण होस् भन्ने उद्देश्यले खबरदारी गर्न लागेका हौँ ।” उहाँले कसैको विरोध भन्दा पनि समयमा सडक बनोस् भन्ने आफूहरुको उद्देश्य रहेको सुनाउनुभयो । बिर्तामोड बजार क्षेत्रको अढाइ किलोमिटर सडक चार लेनको र बाँकी डेढकिलोमिटर सडक दुई लेनको बनाउने गरी आशिष प्रेरा जेभिसँग सडक डिभिजन कार्यालय दमकले रु २७ करोडमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अवधि सकिन दुई महिना मात्रै बाँकी छँदा २० प्रतिशत पनि काम पूरा नभएको स्थानीयवासी बताउँछन् । स्मार्ट सिटीको अवधारणा अनुसार बिर्तामोड बजारक्षेत्रभित्रको सडकलाई चार लेनको बनाउने तयारी भइरहँदा ठेकेदारको कार्यशैली भने लापर्वाही देखिएको सामाजिक अगुवा मदनगोपाल सुब्बाले बताउनुभयो ।

“धेरैको चासो र चिन्ता भएको यो सडकमा लापरवाही हुनु गैरजिम्मेवारी हो”, सुब्बाले भन्नुभयो, “त्यसैले सडकमा उत्रिएका छौँ ।” बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ सडक निर्माणमा भएको ढिलासुस्तीले जनताको आक्रोस बढ्दै गएको बताउनुहुन्छ । “चार किलोमिटर बाटो बनाउन यति धेरै ढिलासुस्ती छ”, उहाँले भन्नुभयो, “अरु कति योजना अलपत्र होलान् सहजै अनुमान गर्न सकिन्छ ।” उहाँले विकासका लागि नागरिक खबरदारी जारी रहने बताउनुभयो । यो सडक खण्डमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे नियति जस्तै बनेको छ । गत असारमा बिर्तामोडको भद्रपुर रोडमा स्थानीयवासीले धान रोपाइँ गरेर विरोधसमेत जनाएका थिए । तर, विरोध गरेपनि सरोकारवाला निकायको कानमा बतास चलेको छैन । बल्लतल्ल ठेक्का लागेको भए पनि अपेक्षा अनुसार निर्माण अघि बढ्न सकेको छैन । ढल निर्माणका लागि सडक किनारमा खनिएको खाल्डोमा परेर एक जनाको मृत्युसमेत भइसकेको छ । सटर भाडामा लिएर व्यवसाय गरिरहेकाको व्यापार त चैपट भएको छ नै धुलोले स्वास्थ्यमासमेत प्रतिकुल असर परिरहेको छ ।

बिहानदेखि राति अबेरसम्म बाक्लो जनचाप हुने बिर्तामोड–भद्रपुर सडक निर्माणमा भएको ढिलाइप्रति यात्रुहरु पनि आक्रोसित छन् । सामाजिक अगुवा रञ्जु प्याकुरेल बजार क्षेत्रभित्रको सडकको हालत सधैँ यस्तो देखिनुले जनप्रतिनिधिलाई गिज््याइरहेको बताउनुहुन्छ । “स्थानीय सरकारलाई मात्रै होइन माथिल्लो तहका जनप्रतिनिधिका लागि पनि यो लाजमर्दाे विषय हो”, उहाँले भन्नुभयो, “अब सडक निर्माणका लागि आन्दोलनको अगुवाई नगर प्रमुख र उपप्रमुखले गर्नुपर्छ । हामी साथ दिन तयार छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology