• Monday 27th of July 2026

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने


  • गोकर्णेश्वर अनलाइन

कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका लागि आवश्यक पर्ने दाउराका लागि सञ्जयले टीकापुरमा रहेका अधिकांश सामुदायिक वन धाउनुभयो तर उहाँले दाउरा पाउनुभएन ।

“राति २ बजे बुवा बित्नुभयो, आफन्तहरु बिहान ४ बजेबाट दाउराको जोहो गर्न थाले, आफू उपभोक्ता रहेका सामुदायिक वनमा समेत पाउन सकिएन”, सञ्जयले भन्नुभयो, “पछि एक जना स्थानीय नेताले भनिदिएपछि दिउँसो १ बजे एक सामुदायिक वनले दाउरा दियो ।”

कैलालीको टीकापुरमा मृत्यु संस्कारका लागि आवश्यक दाउराको समस्या सधैँ हुने गरेको छ । मानिसको मृत्यु भएमा जलाउने दाउरा खोज्न निकै मेहेनत गर्नुपर्छ । यही समस्या समाधानका लागि टीकापुर क्षेत्रका सामुदायिक वनले दाहसंस्कारका लागि आवश्यक दाउराको व्यवस्थापन गर्ने सहमति गरेका छन् । टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा मङ्गलबार बसेको बैठकले दौलतपुर र सनकट्टी घाटमा दाहसंस्कारका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

“दौलतपुर र सनकट्टी घाटमा एक÷एकवटा घाटगद्धी डिपो स्थापना गर्ने, सनकट्टी घाटको डिपोको सितल सामुदायिक वन र दौलतपुर घाटको डिपोको रेखदेख गर्ने जिम्मा भगरैया वन संरक्षण समितिलाई दिने निर्णय गरेका छौँ”, टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष श्याम खत्रीले भन्नुभयो, “हामी घाटगद्धी स्थापना गर्न जुटिसकेका छौँ, सामुदायिक वनले गरेको यो निर्णय आउँदो मङ्सिर १ गतेदेखि लागु हुनेछ ।”

अध्यक्ष खत्रीले दाहसंस्कारका लागि अब नागरिकले दाउरा खोज्न सामुदायिक वन धाउनु नपर्ने बताउनुभयो । “अब मृत्यु संस्कार गरिने घाट नजिकै रहेका घाटगद्धीमै दाउरा खरिद गर्न सकिने भएको छ”, उहाँले भन्नुभयो, “पीडामा थप पीडा नहोस् भनी हामीले यसो निर्णय गरेका हौँ । यसले नागरिकलाई सहज हुन्छ । अब दाउरा खोज्ने झण्झट गर्नुपर्दैन ।”

टीकापुर नगरपालिकास्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा बसेको बैठकमा टीकापुरभित्रका १० वटा सामुदायिक वनका पदाधिकारीको सहभागिता रहेको थियो । “टीकापुरमा रहेका सत्तीघाट, दौलतपुर घाट र सनकट्टी घाटमा टीकापुरका मात्र नभई जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाका नागरिक पनि आफन्तको अन्त्येष्टिका लागि आउने गरेका छन्”, अध्यक्ष खत्रीले भन्नुभयो, “आवश्यक भएका सबैले अब सहजरूपमा दाउरा पाउनेछन् ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology