• Monday 5th of October 2026

लोप हुँदै मादल बनाउने पेशा


  • गोकर्णेश्वर अनलाइन

मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताउनुभयो । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उहाँले भन्नुभयो ।

बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताउनुभयो । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उहाँको भनाइ छ । “अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा सङ्कटमा छ ।” घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उहाँको भनाइ छ ।

माछा मार्ने पेशा पनि धरापमा

वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गुर्नुभयो । “मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ”, उहाँले भन्नुभयो, “तर , अहिले यो पेशा पनि धरापमा छ ।” नदी तथा खोलाहरुमा करेन्ट लगाएर, वीष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि सङ्कटमा परेको उहाँको भनाइ छ । जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ ।

पाँच वर्ष पहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका वादी समुदायले अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँबस्तिका धनराज वादीले गुनासो गर्नुभयो । मादल बनाउने र माछा मारेर दुवै पेशा धराममा परेपछि अहिले वादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ । “बिगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, पछिल्लो समय यी दुवै पेशाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन् ।” यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दाङमा चार हजार बढी वादी समुदायको बसोबास छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology