प्रदेश नम्बर १ मा अब कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा नेपाल स्काउटमा आबद्ध भएका स्वयंसेवकहरु खटिने भएका छन् । सेनाले मात्रै शव व्यवस्थापन गर्दै आएको भएतापनी अब नेपाल स्काउट समेत त्यस कार्यमा अग्रसर हुन थालेको छ।
दक्ष जनशक्ति तयार गर्न नेपाल स्काउटमा आवद्ध भएकालाई अहिले धमाधम तालिम नेपाल आर्मीका दक्ष प्रशिक्षकबाट तालिम दिइदै छ । शव व्यवस्थापन तालिममा नेपाल स्काउटका १५ जना स्वयंसेवक र प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । विराटनगरमा शनिबारबाटै स्काउटमा आवद्ध १५ जनालाई सहभागी गराएर चार दिने तालिम दिन थालिएको छ ।
शव व्यवस्थापन गर्न दक्ष जनशक्ति उत्पादनका लागि सुनसरीको इटहरीमा सोमबारदेखि १० जनालाई तालिम दिइने छ । प्रदेश १ स्काउट तदर्थ समितिको आयोजनामा नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी र नम्बर २ बाहिनी अड्डा हिलेको आवश्यक समन्वय एवं सहकार्यमा तालिम सञ्चालन गरिरहेको हो ।
तालिममा कोरोनाको रोकथाम, नियन्त्रण तथा होल्डिङ एरिया र आइसोलेसन सेन्टरको व्यवस्थापन एवं सुरक्षा तथा शव व्यवस्थापनसमेतका प्रतिकार्य सम्बन्धी सबै विषयवस्तुका बारेमा प्रशिक्षण दिइने छ ।
साथै संक्रमितको शवको उचित एवं सावधानीपूर्वक गरिने व्यवस्थापन लगायतका विषयमा डेमोस्ट्रेसन अभ्यासमार्फत पनि जानकारी दिइन्छ । व्यवस्थापनमा अपनाइने विधिसमेतका बारेमा पोख्त बनाएपछि स्काउट परिचालन हुनेछन् ।
प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले अब संक्रमितको शव व्यवस्थापनमा सेनाको सहयोगीका रुपमा स्काउट जनशक्ति परिचालन हुने बताए ।यसअघि प्रदेशभरि नै स्काउटमार्फत एकअर्कामा सामाजिक दूरी कायम, मास्क र सेनिटाइजरको प्रयोग तथा साबुनपानीले नियमित सरसफाई गर्नुपर्छ भन्ने विषयमा अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
प्रदेश १ भरि स्काउटसँग आवद्ध एक हजार चार सय स्वयंसेवक परिचालित भएका प्रदेश १ स्काउट तदर्थ समितिका संयोजक रवि खनालले बताए।

