• Saturday 25th of July 2026

मादलको बिक्री कम हुन थाल्यो


  • गोकर्णेश्वर अनलाइन

रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताउनुभएका उहाँको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन । नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ । तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन् । तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उहाँले बताउनुभयो । “तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन”, व्यवसायी नेपालीले भन्नुभयो, “तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन ।”

पछिल्लो केही दिनयता दैनिक १० जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उहाँको भनाइ छ । बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आउनुभएका उहाँका अनुसार पछिल्लो पाँच वर्षयता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताउनुभयो । त्यसअघिसम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भए पनि अहिले क्रमशः व्यापारमा कमी हुँदै गएको उहाँको भनाइ छ । “पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइनभ्याई हुने गथ्र्यो तर केही वर्षयता घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी हुँदा आम्दानीसमेत घट्दै गएको उहाँले बताउनुभयो । तर वर्षौँदेखि आफूले जानेको सीप, किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताउनुभयो ।

अहिले उहाँले नयाँ मादल आकार हेरि रु दुई हजार पाँच सयदेखि रु छ हजारसम्ममा बेच्ने गरको बताउनुभयो । यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तीमा रु एक हजार दुई सय लाग्ने नेपालीले बताउनुभयो ।

पछिल्लो समय तिहारको देउसीभैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको उहाँले बताउनुभयो । पहिले मादल बजाएर मादलकै भरमा देउसीभैलो खेल्ने चलन भए पनि हिजोआज कलाकारका गीत ‘डेक’मा बजाएर देउसीभैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उहाँको भनाइ छ । “पहिले मादल नभई देउसीभैलो हुन्थेन, अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले”, उहाँले भन्नुभयो ।

पहिले–पहिले देउसीभैलो खेल्ने समूह टोलटोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजोआज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताउनुभयो । भए पनि मादलको तालमा गीत गाउने, देउसी भट्याउने चलनमा कमी हुँदै गएको उहाँले बताउनुभयो ।

“पहिले हाम्रै टोलका दुई, तीन समूह देउसीभैलो खेल्ने हुन्थे, मादलको तालमा देउसी भट्याउने, गाउने, नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए”, उहाँले भन्नुभयो, “कहीँकतै समूहमा देउसी खेल्न हिँडे पनि यसो देउसी भट्याएजस्तो ग-यो, डेकमा गीत लगायो नाच्यो, सजिलो भयो ।” डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरे पनि पुरानो संस्कृति र देउसीभैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology