• Saturday 25th of July 2026

नमूना मतदानमा उत्साहपूर्ण सहभागिता


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आज यहाँ सञ्चालित नमूना मतदान प्रभावकारी भएको छ । विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको एक सय पाँच मतमध्ये एक सय मत सदर भएको कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो । मतदान कार्यक्रममा प्रतिनिधिसभातर्फको प्रत्यक्ष र समानुपातिक दुई मतपत्र र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकमा गरी दुई गरी जम्मा चार मतपत्रमा नागरिकले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचनमा मतदाताले एउटै मतपत्रमा प्रमुख र उपप्रमुख दुई स्थानमा मतदान गरेकाले नमूना मतदानमा समेत एक स्थान गर्नुपर्नेमा दुई स्थानमा मतदान गरेको पाँचवटा मतपत्र बदर गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयोगद्वारा मतदातालाई जागरुक गर्ने यस प्रकारको अभियानले मत बदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यालयका प्रमुख अधिकारीले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत महत्वपूर्ण अभियान भएको र आगामी तीन दिनसम्म जिल्लाका अन्य १६ पालिकामा दुई/तीन जनाको टोली बनाई मतदान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । विराटनगर–१७ की बन्दना खड्काले नमूना मतदानमा सहभागी हुँदै ग्रामीण क्षेत्रमा बस्ने मतदातालाई मतदाता शिक्षाअन्तर्गत यस प्रकारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी मतदानमा सहभागी विराटनगर–६ का मतदाता मोहम्मद सेफ अलि खानले पाँच वर्ष आउने महत्वपूर्ण चाडमा रुपमा यो निर्वाचनमा आफ्नो मतखेर जान नदिनका लागि यसबाट नागरिकमा महत्वपूर्ण जागरुक बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो । नमूना मतदान कार्यक्रम एक घण्टा सञ्चालन हुनका साथै मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology