• Saturday 25th of July 2026

सात महिनादेखि अन्धकारमा मामांखे गाउँ


  • गोकर्णेश्वर अनलाइन

साँझमा टुकी बालेर बसेका परिवार देख्दा यहाँहरु पनि विगतका दिन पक्कै सम्झिनुहुन्छ होला । त्यो दृश्यले यहाँलाई ती दिनमा दियालो बालेर ‘क’ ‘ख’ पढेको, टुकीकै भरमा चिट्ठीपत्र लेखपढ गरेको सम्झना पनि गराउला । अहिले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मामांखे गाउँमा पुग्नुभयो भने यहाँले विगत सम्झिन सक्नुहुनेछ ।

गत साता मात्र मामांखेका मन कुमारी लिम्बू साँझमा एउटा टुकी बालेर पारिकाका लागि खाना पकाउँदै हुनुहुन्थो । घरभित्रको टुकीले आधा भाग पनि उज्यालो प्रकाश दिन सकेको थिएन । टुकीको वरिपरि मात्र केही उज्यालो थियो । सँगसँगै बसेका परिवारलाई अँध्यारोमा चिन्न पनि मुस्किल हुथ्यो । आँखाले देख्न नसके पनि आवाजबाट भने पहिल्याउन सकिन्थो ।
घरभित्रको टुकीले केही उज्यालो प्रकाश दिए पनि घरबाहिर भने अँध्यारो नै थियो । केही छिमेकीको घर छेउमा बालेको आगो ताप्दै छिमेकीहरु विगतका आफ्ना कथा एक–आर्कालाई सुनाउन व्यस्त हुन्थ्ये । आकासमा ताराहरु चम्किरहेकाले थोरै भए पनि उज्यालो दिएको थियो ।
मामांखे गाउँको यो दृश्य प्रतिनिधिमूलक घटना मात्र हो । सिरिजङ्गा गाउँपालिका–५ पेदाङ र ६ मामांखे गाउँमा पाँच सय घर परिवारको व्यथा अहिले पनि उस्तै छ । गत आसार ३ गते अविरल वर्षाका कारण पहिराले लघु जलविद्युत् गृह बगाएसँगै पाँच सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएको खाकसेवा खोला लुघ जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो । सोही बखत पहिराले गर्दा उक्त गाउँपालिकामा दुई जनाले ज्यान गुमाएका थिए भने ६३ घरपरिवार पूर्णरुपमा विस्थपित हुन पुगेको थियो । अहिले उनीहरुलाई जिल्ला प्रशासनमार्फत पुनःस्थापित गराउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत असार ३ गते पहिराले विद्युत् गृह बगाएसँगै अहिलेसम्म विद्युत् जडान नहुँदा ढुङ्गेयुग जस्तै अन्धकारमा बस्नुपर्ने बाध्य हुनु परेको वडा नं ६ का हर्कबहादुर लिम्बूले बताउनुभयो । गाउँमा आपत बिपत पर्दा र मानिस बिरामी पर्दा बिजुली बत्तीको अभाबले बढी समस्या हुने गरेको उहाँको भनाइ थियो । मोबाइलको ब्याट्री चार्ज गर्न नपाउँदा आफ्ना आफन्तहरुसँग कुराकानी गर्नसमेत समस्या हुँदै आएको मामांखेका सुने लिम्बूले बताउनुभयो । लामो समय बिजुली बत्ती नबनेपछि विद्यार्थीको पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न पुगेको स्थानीयवासीको गुनासो थियो ।

विद्युत् गृह राख्ने ठाउँ नै नरहने गरी बगाएर लगेकाले अब त्यस ठाउँमा पुनः विद्युत् गृह निर्माण गर्न समस्या भएको खाकसेक्वा खोला लघु जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष टीका माबोले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बनाउने भनेर प्राविधिक पनि बोलाएर सर्भेक्षण गरायौँ तर ठूलो खर्च लाग्ने प्राविधिकले हिसाब निकाल्यो । गाउँपालिकाले उपलब्ध गराएको बजेट पनि नपुग्ने भएपछि त्यतिकै छोड्यौँ । अन्य ठाउँबाट विद्युत् निकालाँै भने खोला छैन ।”

पहिराले बगाएको विद्युत् गृह पुनः निर्माण नगरी राष्ट्रिय प्रसारणमा विद्युत लाइन जोड्ने पेदाङवासीको योजना रहेको खाकसेक्वा खोला लुघु जलविद्युत् पेदाङ उपभोक्ता समितिका अध्यक्ष भोला भट्टराईले बताउनुभयो । “खोलाले बगाएको स्थानमा पुनःनिर्माण गर्न ठूलो खर्च लाग्ने भएकाले राष्ट्रिय प्रसारण लाइन यहाँ जोड्न लागिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय प्रसारण लाइन जोड्नका लागि लागि पोलहरु गाड्ने, तार तान्ने काम हुन आँटेको छ । छिट्टै नै पेदाङ गाउँ अँध्यारोमुक्त गाउँ हुन्छ ।” पहिराले बगाएको विद्युत् गृह मर्मत गर्नुभन्दा राष्ट्रिय प्रसारण लाइन छिट्टै ल्याउन पहल भइरहेको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology