• Friday 24th of July 2026

ब्राउनसुगरसहित चार पक्राउ


  • गोकर्णेश्वर अनलाइन

झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

मङ्गलबार झापा गाउँपालिकाबाट तीन र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । टाघनडुब्बा प्रहरी चौकीबाट झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा खटिएको प्रहरी टोलीले मे८प ५३४४ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट तीन ग्राम सात सय मिलीग्राम ब्राउनसुगर एक थान डिजिटल तराजु बरामत गरेको थियो ।

त्यस्तै काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित भट्टराई चोकमा पैदल हिँडिरहेका सोही स्थानका २८ वर्षीय दिलीप लिम्बूलाई शङ्का लागेर जाँच गर्दा उनको साथबाट एक ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

यसैगरी झापा गाउँपालिका–४ र ५ को सिमानामा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्रको साथबाट ब्राउनसुगर बरामद गरेको थियो । शङ्कास्पद अवस्थामा देखिएका उनलाई जाँच गर्दा तीन ग्राम पाँच सय मिलीग्राम ब्राउनसुगर फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेकोे जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology