• Friday 24th of July 2026

रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ


  • गोकर्णेश्वर अनलाइन

कुश्मा, ११ फागुन (रासस) : सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क ।

गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ । तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन् । हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यास लाग्दो रहेको जनाउँछ ।

यहाँका कतिपय हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन् । नजिकको सहर पोखरा, काठमाडौँ, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो । “घरमा आमा र बुबा बस्नु हुन्छ । हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौं, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो”, २१ वर्षीया सजना गुरुङले भन्नुभयो, “हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन ।”

गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन । लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो ।”

टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन् । गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ ।

“कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ”, स्थानीय रुपा थापा गुरुङले भन्नुभयो, “गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुङ्गाका पुराना र घुमाउने घर समेटेर गुरुङ सङ्ग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्ने थ्यो ।”

आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर निर्माण गरेका छन् । “विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौँ”, कुश्मा बस्दै आउनुभएकी स्मृति गुरुङले भन्नुभयो, “सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ ।”

बिहेवारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो । त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरुङले सुनाउनुभयो । “यस गाउँको कोही म¥यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे”, गुरुङले आफू १६÷१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भन्नुभयो, “त्यो बेला अरघु (मृत्यु संस्कार) तीनचार दिनसम्म हुन्थ्यो, गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो । ठाउँठाउँमा खुद्रा होटल पनि खोलिन्थे, त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो । अहिले ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology