• Friday 24th of July 2026

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी


  • गोकर्णेश्वर अनलाइन

निर्माण सुरु भएको चार वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी खुसी भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’मा निर्माण भइरहेको स्मार्ट सिटी अन्तर्गतको सडक निर्माण सुरु भएको चार वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीय खुसी भएका हुन् ।

स्थानीय व्यापारी हिक्मत विश्वकर्माले सडक कालोपत्र हुन थालेपछि धुलो र हिलोको सास्ती कम हुने विश्वास व्यक्त गरेका गर्नुभयो । “भएको कालोपत्र सडक पनि उखेलेर फालेको अवस्था थियो । सडकको काम अस्तव्यस्त हुँदा सास्ती त्यस्तै थियो भने धुलो र हिलोको समस्या उस्तै”, हिक्मतले भन्नुभयो, “सडक कालोपत्र हुन थालेपछि आवतजावतमा सहजता पुग्ने आशा छ । सडक राम्रो र टिकाउ बनोस् भन्ने अपेक्षा हामी व्यापारीको छ ।”

मुख्य बजार क्षेत्रमा निर्माण सुरु भएको काम बीचमै अलपत्र पर्दा सबैभन्दा बढी सास्ती व्यापारीहरुलाई भएको थियो । लामो समयदेखि अन्योलमा रहेको आयोजनाको कामले गति लिएपछि आशा जागेको स्थानीयवासी राजेन्द्र विष्ट बताउनुहुन्छ । उहाँले सडक निर्माणको काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै काम गुणस्तरीयमा भने शङ्का गर्नुभएको छ । “आयोजनाले ढिलै भए पनि कालोपत्रको काम सुरु गरेको छ । त्यसको गुणस्तरमा स्थानीय सरकारको ध्यान पुग्नुपर्छ”, विष्टले भन्नुभयो, “आयोजनाका विगतका काम कारबाहीले काममा शङ्का गर्ने ठाउँ छ । निर्माण भएका केही संरचनामा आयोजनाको निकै ठूलो लापरबाही देखिएको छ ।”

सडक निर्माणको काम निकै कमसल भएको स्थानीयवासीले पटकपटक गुनासो गर्दै आएका छन् । निर्माण भएका नाली सबैभन्दा गुणस्तरहीन भएको स्थानीयवासी प्रकाश शाहले बताउनुभयो । उहाँले निर्माण सम्पन्न भएका कैयौँ ठाउँमा नाली भत्किएको बताउँदै अन्य संरचनामा पनि प्रश्न गर्न ठाउँ निर्माण कम्पनीले राखेको बताउनुभएको छ । “सडक निर्माणको काम निर्माण कम्पनीले पूरा गर्नैपर्छ । त्यो पूरा गर्नु नौलो कुरा होइन । कुरा गुणस्तरको हो”, शाह भन्नुहुन्छ, “गुणस्तर काम भएर सकियो भने त्यसले परिणाम पनि राम्रो दिन्छ भने नागरिकले पनि धन्यवाद दिने ठाउँ हुन्छ ।” निर्माण सम्पन्न भएको केही महिनामै सडक पुनः निर्माण गर्नुपर्ने स्थितिमा पुग्ने हो भने हर्ष मान्नुपर्ने कारण नभएको उहाँ बताउनुहुन्छ ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीको निगरानीमा निर्माण भइरहेको ब्लक नं ए अन्तर्गतको काम असार मसान्तसम्म सम्पन्न गर्ने योजना निर्माण कम्पनीको रहेको छ । महालक्ष्मी एमके जेभीले निर्माणको जिम्मा पाएको आयोजनाको चौथोपटक म्याद थप भएको छ ।

निर्माण कम्पनीका सुपरभाइजर जयराम थापाले असार मसान्तसम्म काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार वैशाखभित्र कालोपत्रको काम सम्पन्न हुनेछ । “सडकको बेसको काम सबै सकिएको छ । अब कालोपत्रको काम वैशाखभित्र सक्छौँ । सुपरभाइजर थापाले भन्नुभयो, “बाँकी फुटफाट र टुक्राटुक्राको काम बाँकी हुन्छ, त्यो पनि समयमै सम्पन्न गर्छौं ।” आयोजनाले बाहिरी चक्रपथ छ लेन र चार लेनको एक किलोमिटर बाँकी दुई किलोमिटर दुई सय मिटर भित्री सडक कालोपत्र गर्ने छ ।

आठ करोड ४१ लाखको लागतमा निर्माण हुन लागेको आयोजनाको म्याद मङ्सिरमा सकिएको भए पनि अहिलेसम्म म्याद भने थप भएको छैन । कम्पनीले असार मसान्तसम्मका लागि म्याद थप गर्न कार्यान्वयन इकाइलाई पत्र पठाएको छ । “म्याद थप हुन्छ । अब थप भएको समयभित्र काम सम्पन्न पनि हुन्छ”, कम्पनीका सुपरभाइजर थापा भन्नुहुन्छ, “बीचमा पनि काम गर्ने समयमा आएका समस्याले समयमै काम गर्न नसकिएको हो । यसमा निर्माण कम्पनीको दोष छैन ।” उहाँले काम डिजाइनअनुसार भएको बताउँदै काममा शङ्का नगर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology