• Friday 24th of July 2026

गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय


  • गोकर्णेश्वर अनलाइन

गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो ।

हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका–१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती प्रमिलादेवीलाई विसं २०७८ भदौ २७ मा जन्मकैद सजाय भएको थियो । साथै प्रमिलाका दाजु डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका सत्यनारायण साहलाई तीन वर्ष कैद सजायको फैसला भएको थियो ।

अदालतले गत कात्तिक १६ गते हाजिर भई पुर्पक्षका लागि थुनामा रहेका सोही ठाउँका ताराचन्द्र साह र कात्तिक २७ मा अदालतमा हाजिर भई थुनामा रहेका सोही ठाउँका गोपीचन्द्र साहलाई भने सफाइ दिएको छ ।

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा पञ्चदेवसहित राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भनिने जिवछनारायण साह साउन ७ गते पक्राउ परेका थिए । यस्तै प्रहरीले २०७५ साउन ९ गते प्रमिलादेवी र निजका दाजु सत्यनारायणलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका धर्मेन्द्र र जिवछनारायणले २०७८ भदौ २७ गते अभियोगबाट सफाइ पाएका थिए । अदालतमा २०७८ पुस १९ गते हाजिर भएका जयनारायण साह सोही दिन पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा गएकामा २०७९ भदौ २९ गतेको इजलासबाट सफाइ पाएका थिए ।

बेचनीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको ‘सेफ्टिक ट्याङ्की’मा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले उनको घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टिकट्याङ्कीबाट गलेको अवस्थामा रहेको शव २०७५ असार १ गते उत्खनन् गरी निकालेको थियो ।

भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि २०७२ असार ११ गते घर फर्केको भनिएका सूर्यनारायण साहले २०७२ मा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ लालापट्टि खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए । मृतकका बुवा रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा मृतककी सासु ५५ वर्षीया सोमनीदेवी भनिने शोमादेवी साह, मृतकका देवर पञ्चदेव, निजकी श्रीमती प्रमिला, उनीहरूका छोरा सन्तोषविरुद्ध जिल्ला प्रहरी कार्यालयले २०७५ असार २९ गते उजुरी दर्ता गरेको थियो ।

मृतकका पति सूर्यनारायण र निजकी छोरी दुई वर्षीया प्रतिभासमेत बेपत्ता छन् । उनीहरूलाई समेत हत्या गरेर नदीमा फालेको आशङ्कामा प्रहरीले खोजी गरे पनि शव फेला परेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology