• Friday 24th of July 2026

बालबालिकालाई न्यानो कपडा वितरण


  • गोकर्णेश्वर अनलाइन

काठमाडौँ नार्गजुन नगरपालिका–१० साविकको स्युचाटार–४ का शिवप्रसाद पन्तलगायतको टोलीले आफ्नो रोजगारबाट प्राप्त आम्दानीको खर्चबाट बचत गरेर मुगु जिल्लाको एक दलित बस्तीमा विभिन्न सामग्री सहयोग गरेका छन् । वैदेशिक रोजगारमा काम गर्दै आएका पन्तलगायतको सात जनाको टोलीले शनिबार छायाँनाथ रारा नगरपालिका–१३ लापु गाउँका ३४ विद्यार्थीलाई न्यानो कपडा, विद्यालयलाई हिल ट्याङ्की, फिल्टरलगायत २८ घरधुरीलाई कम्मल वितरण गरी सहयोग प्रदान गरेका हुुन् । कामको सिलसिलामा मकाउ बस्दै आएका पन्तले लापु गाउँ दलित बस्तीको पीडादायक अवस्थाबारे विभिन्न सञ्चारमाध्यमबाट आफूले जानकारी पाएपछि आफूलगायत वैदेशिक रोजगारमा रहेका केही साथीहरुले यो बस्तीमा सहयोग गर्ने योजना बनाएको र सोहीअनुसार रु दुई लाख ५० हजार बराबरका सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

लण्डन बस्दै आउनुभएका भरत पाण्डे, मकाउ बस्दै आउनुभएका विष्णुप्रसाद श्रेष्ठ, जङ्गबहादुर गुरुङ, रङबहादुर गुरुङ र दीपक रानाभाट, अमेरिका बस्दै आउनुभएकी प्रियंका लामिछानेको सहयोगमा लापु गाउँका दलित बस्तीका २८ घरधुरीका स्थानीयलाई कम्बल, नमूना आधारभूत विद्यालय लापुका ३४ विद्यार्थीलाई न्यानो कपडा, जुत्ता मोझा, झोला टोपी, शैक्षिक सामग्रीलगायत नमूना आधारभूत विद्यालयलाई पानीखाने राख्ने ५०० लिटरको हिल ट्याङ्की र फिल्टर सहयोग प्रदान गरिएको हो । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको उहाँको भनाइ छ । आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन शुरु भएको छ । लुगा किन्ने पैसा थिएन मनकारी भावना बोकेका पन्तलगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए । पन्तले यसअघि लामो समयदेखि धादिङको चेपाङ बस्तीका बालबालिकाको शिक्षा तथा शैक्षिक सामग्री र विद्यालयलाई सहयोग गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology