• Sunday 26th of July 2026

‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने भएको भन्दै आफूहरू सामाजिक अपहेलनामा परेको कोरोना विजेताहरूको दुःखेसो छ । आफूहरु मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनु परेको बताउनुहुन्छ कैलालीको घोडाघोडी नगरपालिका–३ का एक कोरोना विजेता । “हामीलाई कोरोना छैन, हामीले कोरोना जितेका छौँ तर समाजसँग हा¥यौँ, हाम्रा कारण वरपरका व्यक्तिलाई समेत समुदायमा अप्ठ्यारो भएको छ” उहाँले भन्नुभयो ।

उहाँ सुनाउनुहुन्छ, “मेरो छिमेकी सामुदायिक वनको समितिमा हुनुहुन्थ्यो, छलफल गर्दा उहाँलाई सधैँ बोलाउँथे तर अहिले मेरै कारण उहाँलाई बैठकमा बोलाउन छाडिएको छ ।” त्यस्तै घोडाघोडी नगरपालिका–३ कै अर्का कोरोना विजेताले प्रधानमन्त्री कृषि रोजगार कार्यक्रमअन्तर्गत काम गर्न जाने गरेका छिमेकीलाई आफ्नो घरमा आएको भन्दै काम गर्नबाट वञ्चित गरिएको गुनासो गर्नुभयो । आफ्नो स्वास्थ्य अवस्था सामान्य भइसक्दा पनि अझै समाजले घृणा गरेको देख्दा उहाँलाई निकै पीडाबोध हुने गर्दछ । “हामी पूर्णरूपमा निको भैसकेका छौँ”, घोडाघोडी नगरपालिका–८ का कोरोना विजेताले भन्नुभयो “तर अझै पनि हाम्रो घर नजिक कोही आउँदैनन् ।”

कोरोना जित्नु भएका घोडाघोडी नगरपालिका–१० का रमेश पाण्डे भन्नुहुन्छ, “हामीलार्ई आफ्नै गाउँ समाजले त साथ दिँदैन भने अरू कोसँग सहयोगको अपेक्षा गर्ने ? एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने हामी नेपालीको स्वाभिमान कहाँ गयो होला ? मर्दापर्दा एकजुट हुने नेपाली संस्कार कहाँ हरायो ?” कोरोना महामारीले सामाजिक सद्भाव र मानवतामा अनेक प्रश्न उब्जाएको उहाँको भनाइ छ । “भारतबाट आएका मान्छे भन्नेबित्तिकै घृणा गर्छन्, झन् आफू त सङ्क्रमित भइसकेकाले समाजले गरेको व्यवहार निकै पीडादायी रहेको बताउनुहुन्छ, घोडाघोडी नगरपालिका–६ का अर्का कोरोना विजेता । उहाँ भन्नुहुन्छ, “अहिले त निको भइसक्यो तर अझै पनि हामीलाई सङ्क्रमित नै छ भन्ने दृष्टिले हेरिन्छ ।”

“शुरुमा आफूमा कुनै लक्षण थिएन, नगरपालिकाबाट सङ्क्रमित भयो भनेर खबर आउँदा पत्यार नै लागेन । सङ्क्रमित भएको सुन्नेबित्तिकै टाढा बसँे तर अब निको भइसक्दा पनि समाजले अझै स्वीकार्न सकेको छैन”, उहाँ भन्नुहुन्छ । सबै सखाप बनायो, सबैलार्ई रोग सारेर गयो भनेर अनेकौँ लाञ्छनायुक्त प्रहार समाजबाट खेपिरहनु परेको बताउनुहुन्छ घोडाघोडी नगरपालिका–११ का अर्का कोरोना विजेता । उहाँलाई सङ्क्रमित भएको पुष्टि हुनुअघि नै परिवारका सबै सदस्य क्वारेन्टिनमा थिए । सङ्क्रमित भएको पुष्टि हुनासाथ समाजले परिवारका सदस्यलार्ई हेर्ने नजर नै बदलिएको सुनाउनुहुन्छ उहाँ । उहाँ भन्नुहुन्छ, “उनीहरूमाथि अपराधीको जस्तो व्यवहार गरियो ।”

गाउँ समाजले रोग लिएर आयो, गाउँभरि सारेर गयो भनेर आरोप लगाए पनि कोरोना जितिसक्दा आफूले विशेष सतर्कता अपनाएको उहाँ बताउनुहुन्छ । आफूले पूर्ण स्वास्थ्य सतर्कता अपनाएकै कारण परिवार, आफन्त तथा सम्पर्कमा आएका कसैमा पनि सङ्क्रमण सर्न नपाएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी पनि रोग सर्न दिनुहुन्न भन्ने कुरामा सचेत छौँ तर त्यो रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या भइरहेको छ ।”

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology