• Sunday 26th of July 2026

हात्तीको समूहबाट तोडफोड र अन्नसमेत नष्ट


  • गोकर्णेश्वर अनलाइन

दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतङ्कित बनेका हुन् । गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ ।

स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको हिलट्याङ्कमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिनुभयो । स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताउनुभयो । सोमबार पनि नौवटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२ स्थित पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरुले बताए । बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्याउँदासमेत हात्ती नियन्त्रण हुनसकेको छैन ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology